काठमाडौं, भदौ २९ :

‘हामी नेपाल’ संस्थाका सञ्चालक तथा आफूलाई 'जेनजी समूह'को अगुवा बताउँदै आएका सुदन गुरुङले आइतबार रिपोर्ट्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन तनावपूर्ण बनेको छ।

पत्रकार सम्मेलनको क्रममा गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको वृत्तान्त सार्वजनिक गर्दै आफ्ना माग पूरा नभए वर्तमान सरकारलाई ढाल्ने चेतावनीसमेत दिएका थिए।

उनको चेतावनीपछि पत्रकारहरूले ती मागहरूको स्पष्टता खोज्दै जिज्ञासा राखेका थिए। तर, सो क्रममा गुरुङ उत्तेजित हुँदै पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग गर्न थाले। यसले सम्मेलनको वातावरण बिग्रँदै गयो।

गुरुङको व्यवहारप्रति आपत्ति जनाउँदै पत्रकारहरू प्रतिकारमा उत्रिएपछि दुवै पक्षबीच भनाभन हुँदै धकेलाधकेलको स्थिति सिर्जना भयो।