काठमाडौं, भदौ २९ :

काठमाडौं उपत्यकामा पछिल्लो समय देखिएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल प्रहरीले उपत्यकामा थप ८ जना प्रहरी उपरीक्षक (एसपी) खटाएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार प्रहरी प्रधान कार्यालयले आइतबारदेखि लागू हुने गरी ८ जना एसपीलाई उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन गरेको हो।

काठमाडौं जिल्ला प्रहरी परिसरको अपरेसन कमाण्डको जिम्मेवारी यसअघि पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई दिइएको छ।  काठमाडौंको पछिल्लो अस्थिर सुरक्षा अवस्थाका कारण उनलाई पुनः राजधानी बोलाइएको हो।

यसैगरी, उपत्यकाका अन्य क्षेत्रहरूमा पनि एसपीहरू खटिएका छन्। खटिइनेमा बालनरसिंह राणा, दीपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराई रहेका छन्।

यसअघि सुरक्षा जिम्मेवारी वृत्तहरूमा प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमाण्डमा सञ्चालन हुँदै आएको थियो। तर हालको असहज परिस्थितिलाई सम्हाल्न एसपी तहका अधिकृतहरूलाई जिम्मेवारी दिइएको हो।