काठमाण्डौं, भदौ ३१ :

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्प युक्त हावाको समेत प्रभाव रहेको छ ।  

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देश भर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राति देश भर साधारणतया बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूर पश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदि नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्व तयारी गर्न अनुरोध गरेको छ ।