काठमाण्डौं, भदौ ३१ :

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको आज अन्त्येष्टि गरिँदैछ ।

मृतकका परिवारका सदस्य र आफन्तहरुले शवयात्रा निकाल्ने तयारी गरिएको बताईएको छ ।

सरकारले आन्दोलमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने,राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप भोली सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।

यही भाद्। २३ र २४ गते भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरु छन् ।

कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।

शवहरु संकलन गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । त्यहाँ पोष्टमार्टम गरी शवको पहिचान भएपछि आफन्तको जिम्मा लगाउने गरिएको छ ।

जेन्जी समुहले पनि आज १२ बजे टिचिङ अस्पतालमा उपस्थित हुन भनेको छ ।

केहीले भने शव पहिल्यै आफन्तले बुझेर अन्त्येष्टि गरिसकेका छन् ।