
जेनजी आन्दोलनको तापक्रम क्रमशः घट्दै जाँदा सेनाको सुरक्षा घेरामा रहेका नेताहरू धमाधम बाहिर निस्किन थालेका छन्। आन्दोलनको चरम अवस्थामा सुरक्षाको कारण देखाउँदै नेताहरूलाई सेना ब्यारेकमा सुरक्षित राखिएको थियो। अब भने परिस्थिति सामान्य बन्दै गएपछि अधिकांशलाई ब्यारेकबाट फिर्ता पठाइएको छ।
ओली अझै सेनाको सुरक्षा घेरामा
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही सीमित नेतामात्र अझै सेनाको सुरक्षा घेरामा छन्। ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो। अन्य विपक्षी दलका शीर्ष नेताहरू पनि सिंहदरबारबाटै सुरक्षाकर्मीसहित सुरक्षित स्थानमा सारिएका थिए।
प्रचण्डदेखि भट्टराईसम्म फिर्ता
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त आजै पार्टी कार्यालय पेरिसडाँडा पुगेर स्थलगत अवलोकनसमेत गरे। त्यस्तै, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि अब सेनाको सुरक्षा घेराबाट बाहिरिसकेका छन्।
देउवा दम्पती अझै अस्पतालमै
यसबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा भने आन्दोलनको क्रममा आक्रमणबाट घाइते भएका कारण अझै अस्पतालमै उपचाररत छन्। उनीहरूले अस्पतालमै रात बिताइरहेका छन्।
नेता कतै आफन्तकोमा, कतै डेरामा
जेनजी आन्दोलनका क्रममा उच्च तहका नेताहरूका घरमा आगजनी र तोडफोड भएको हुँदा हाल उनीहरू कोही आफन्त तथा साथीहरूकैमा बसेका छन् भने केहीले डेरा लिएर बस्न थालेको स्रोतले जानकारी दिएको छ।
भीआईपी सुरक्षा कार्यविधिअनुसार आवश्यक अनुसारको सुरक्षा व्यवस्था मिलाइएको र अझै उच्च सुरक्षा जोखिममा रहेका नेताहरूलाई सुरक्षाकर्मी उपलब्ध गराइरहेको स्रोतको भनाइ छ।