
जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका नागरिकहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल सहभागी भएका छन्। राष्ट्रिय शोक दिवसको सन्दर्भमा सरकारले मृतकहरूलाई शहीद घोषणा गरेपछि आज उनीहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।
ऊर्जामन्त्री घिसिङ गोपीकृष्ण हलबाट राष्ट्रिय झण्डा बोकेर शवयात्रामा सहभागी भए भने गृहमन्त्री अर्याल चाबहिल चोकबाट राष्ट्रिय झण्डा ओढेर सहभागी भए। उनीहरू शवयात्रामा भिडसँगै हिँडिरहेका दृश्यले आन्दोलनको पीडालाई राज्य तहमा अनुभूति गराउने संकेत देखिएको छ।
त्रिवि शिक्षण अस्पतालबाट सुरु भएको शवयात्रा चक्रपथ हुँदै पशुपति आर्यघाटतर्फ अग्रसर छ। मृतकका परिवार, आफन्तजन तथा सयौं सर्वसाधारणले शवयात्रामा सहभागी भई तस्बिर, राष्ट्रिय झण्डा र विरोधका सन्देशसहित श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
सरकारले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, असोज १ गते सार्वजनिक बिदा दिने र यसलाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउने निर्णय गरेपछि मृतकका परिवार अन्त्येष्टिका लागि तयार भएका हुन्।
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्ध भएको जेनजी आन्दोलन हिंसात्मक बन्न पुगेपछि अहिलेसम्म ७२ जनाले ज्यान गुमाएका छन्।