चितवन, असोज १ :

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

मङ्गलबार साँझ ८:५० बजेको समयमा इच्छाकामना गाउँ पालिका–५ तुइन खोला स्थित सडक खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सडक खण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहले बताएका छन्।

अहिले एउटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ भने थप लोडर र एक्साभेटर लैजाने तयारी गरिएको छ । प्रहरी निरीक्षक सिंहले पहिरो पन्छाउन कम्तीमा दुई घण्टा लाग्ने जानकारी दिए ।

यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि पहिरोका कारण सडक एकतर्फी भएको छ ।

नारायणगढ मुग्लिन सडक खण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पन्छाएर सडक दुइतर्फी सञ्चालन गरिएको छ । अहिले पनि सो क्षेत्रमा पानी परिरहेको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन ।

पहिरोलाई अहिले हटाउने काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।