काठमाण्डौं, असोज १ :

सरकारले जेनजी प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि हाम्रा संरचना हामी आफैं बनाऔं अभियान चलाउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले सिंहदरबारमा क्षति पुगेका संरचनाको स्थलगत निरीक्षण गर्दै सो जानकारी दिएका हुन् ।

मङ्गलबार उनले सिंहदरबारको मुख्य भवन र गृह मन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए ।

त्यसक्रममा मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी पनि दिए । साथै उनले सरकारले सरकार,स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना रहेको पनि बताए ।

कार्यालयलाई थोत्रो देखाउनु भएन भित्री काम गदैं गरौंला तर बाहिरी भाग चिटिक्क बनाएर राख्नु पर्छ, क्षति पुगेका सवारी साधन सिंहदरबार परिसरमा यत्रतत्र छरिएर कुरुप देखिएको छ यसलाई तत्काल हटाएर व्यवस्थापन गर्नुपर्ने र  यसबाट हामी उठ्यौं भन्ने सन्देश दिने मन्त्री घिसिङले बताए ।