
जनमत पार्टीभित्र आन्तरिक असन्तोष चुलिँदै गएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता शरदसिंह यादव र युवा संयोजक सञ्जयकुमार यादवसहित ६ नेताले अध्यक्ष डा. सीके राउतलाई २४ घण्टाभित्र नेतृत्व छोड्न अल्टिमेटम दिएका छन्।
उनीहरूले नेतृत्व परिवर्तनमार्फत पार्टीलाई सशक्त, लोकतान्त्रिक र जनउत्तरदायी बनाउनु आवश्यक रहेको उल्लेख गरेका छन्। जेन–जी आन्दोलनले ऐतिहासिक मोड ल्याएको भए पनि हाल पार्टी नेतृत्व जनभावनासँग विमुख हुँदै गएको भन्दै असन्तुष्टि जनाइएको छ।
सार्वजनिक पत्रमार्फत आएको यो अल्टिमेटमले जनमत पार्टीमा गम्भीर संगठनात्मक संकटको संकेत दिएको छ।
यसैबीच,अध्यक्ष राउतले नेतृत्व छाड्नुको सट्टा राजीनमा माग्ने नेताहरुलाई पार्टी छोड्ने मौका यही भन्दै सदपयोग गर्न भनेका छन् । राउतले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘यही सही मौका हो, जनमत पार्टी छोड्नलाई। मौकाको सदुपयोग गर्नुहोस् ।’
उनले पार्टीमा उकुसमुकुस लागि रहेको छ र अनुशासनमा बस्न सकिँदैन भने नयाँ पार्टी रोज्न र खोल्न भनेका छन् । उनले पार्टीलाई स्वच्छ, वफादार, इमानदार र क्रियाशील सदस्यहरूको पार्टी बनाई शुद्धीकरण अभियानमा सहयोग गरिदिन आग्रह गरे ।
उनले अगाडि भनेका छन्,'प्रिय साथीहरू,पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन। किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेनजी आन्दोलन छ, युवाहरूको रापताप छ।'