काठमाडौं, असोज १ :

जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीतर्फ पनि मानवीय र भौतिक क्षति पुगेको छ। प्रहरीका अनुसार, आन्दोलनका क्रममा देशभर ४४५ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ। तीमध्ये १९७ कार्यालय पूर्ण रूपमा ध्वस्त छन् भने २५८ कार्यालय आंशिक क्षतिग्रस्त भएका छन्।

काठमाडौं उपत्यकामै १५३ कार्यालय क्षतिग्रस्त भएका छन्। रानीपोखरीस्थित एआईजी कार्यालय र अधिकांश प्रहरी वृत्तहरूमा आगजनी र तोडफोड भएको छ।

प्रदर्शनकारीहरूले प्रहरीका १,१०० थान हतियार लुटेका छन् । जसमा पेस्तोल, बन्दुक र सगनजस्ता हतियार छन्। सेनाले केही हतियार फिर्ता गरे पनि धेरै अझै फेला परेका छैनन्। सवारी साधनमा पनि ठूलो क्षति भएको र केही चोरी भएको आशंका छ।

आन्दोलनका क्रममा १ हजार ९६३ जना प्रहरी घाइते भएका छन्। तीमध्ये २४ जना अझै अस्पतालमा उपचाररत छन्। प्रदर्शनका क्रममा ३ जना प्रहरी र २१ जना प्रदर्शनकारीको मृत्यु  भएको छ। व्यपारिक भवनमा भएको आगलागीमा परेका समेत गरी ७४ जनाको मृत्यु भएको छ।