
फाइल तस्बिर ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफू र सरकार संविधानको सीमाभित्रै रहन कटिबद्ध रहेको स्पष्ट पारेका छन्। बिहीबार बिहान शीतल निवासमा नागरिक समाजका प्रतिनिधिहरूसँगको भेटमा राष्ट्रपतिले अहिलेसम्म आफूले चालेका सबै कदमहरू संविधानको बाध्यात्मक व्यवस्था अनुसार भएको बताएका छन्।
राष्ट्रपतिले सरकारबाट शान्तिपूर्ण निर्वाचन गराउने पूर्ण आश्वासन प्राप्त भएको उल्लेख गर्दै निर्धारित समयमा चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे।
भेटमा सहभागी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार राष्ट्रपति पौडेलले संविधानबाहिर गएर कुनै पनि कार्य नहुने पुनः प्रतिबद्धता व्यक्त गरेका छन्।
नागरिक समाजका प्रतिनिधिहरूले राष्ट्रपतिसमक्ष चारवटा मुख्य सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले ‘जेन–जी’ आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै अन्तरिम सरकार गठनमा राष्ट्रपतिको भूमिकाको प्रशंसा गरे।
अन्तरिम सरकारका प्रमुखद्वारा संसद विघटन गरिएको निर्णय संविधानसम्मत नभएको जनाउँदै यसले राजनीतिक दल तथा संविधान पक्षधर पेसागत संघ–संस्थासँगको दूरी बढाएको बताए। यस्ता परिस्थितिमा संविधानको सक्रिय कार्यान्वयनका लागि छिटो निर्वाचन आवश्यक भएको सुझाव दिइएको थियो।
साथै, अन्तरिम सरकारले सबै दललाई विश्वासमा लिएर तोकिएको समयमा निर्वाचन सम्पन्न गराउन आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिइयो। संवेदनशील अवस्थामा राष्ट्रपतिलाई सजग रहन पनि आग्रह गरिएको थियो।
राष्ट्रपति पौडेलले नागरिक समाजका सुझावप्रति गम्भीर ध्यान दिने आश्वासन दिँदै आफू सधैं संविधानको मार्गदर्शनमा मात्रै अघि बढ्ने प्रतिवद्धता दोहोर्याएका छन्।
भेटमा नागरिक समाजका अगुवा महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउता, कनकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त, सुशील प्याकुरेललगायत भट्टराई सहभागी थिए।