काठमाडौं, असोज २ :

अर्थ मन्त्रालयले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न/नगराउन  लिखित निर्देशन दिएको छ ।ओझा प्राधिकरणमा गएर कामकाज गर्न थालेपछि आज लिखित पत्र काटेर उनलाई हाजिर नगर्न/नगराउन निर्देशन दिएको हो ।

‘ओझाले अदालतबाट अन्तरिम आदेश पाएको पत्र अर्थ मन्त्रालयलाई प्राप्त नभएकाले अर्को निर्णय नहुँदासम्मका लागि उनलाई प्राधिकरणमा हाजिर नगर्न/नगराउन लिखित पत्रमार्फत निर्देशन भएको छ,’अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

बिहान १० बजे नै प्राधिकरण पुगेका ओझाको निर्देशनमा दिउँसो १ बजे आन्दोलनमा पुगेको क्षतिसम्बन्धमा छलफल गर्न भन्दै बिमा कम्पनीका सीईओहरुको बैठक डाकिएको थियो ।

अघिल्लो सरकारले भदौ २ मा ओझालाई बर्खास्त गरेको थियो । सो निर्णयविरुद्ध ओझा सर्वोच्च अदालत गएका थिए । भदौ २३ मा ओझालाई अध्यक्ष पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासलेअल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।