
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा पैसाको सुरूङ्ग रहेको जस्ता कपोलकल्पित समाचार आएको प्रति देउवा सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीवार देउवाका स्वकीय सचिव भानु देउवाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त समाचारहरू प्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
जघन्य आपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोलकल्पित समाचार सम्प्रेषण भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ । सामाजिक सञ्जालहरूमा देखाइएका दृश्यहरू कपोलकल्पित,अतिरञ्जित हुनुका साथै दूषित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
देउवा निवास बूढानीलकण्ठमा पैसाको कुनै सुरूङ्ग नभएको समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ, भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा र उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा आरजु राणा देउवा लगायत माथि साङ्घातिक आक्रमण भएको स्पष्ट गरिएको छ ।
जेनजीको आन्दोलनलाई धमिलो बनाई आ आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानै देखि अकल्पनीय ढङ्गको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता आपराधिक क्रियाकलाप भएको प्रति भर्त्सना गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,घर भित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकोले उक्त पानी ट्याङ्की रहेको स्पष्ट पार्दै जनमानसमा अपमानित गर्ने मनसायले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृश्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यू ट्युब तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको र यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहन्छौं ।
यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न नेपाली बुबा आमा,दाजु भाइ,दिदी बहिनी तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यहरू लगायत सम्बन्धित सबैसँग हार्दिक अनुरोध गर्दछु ।
गत भाद्र २४ गते जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार लगायत देशमा भइरहेको बेथिति विरुद्ध आन्दोलन गरेका थिए । सो क्रममा सभापति देउवा र उहाँकी पत्नी माथि भौतिक आक्रमण भएका थियो ।