काठमाडौं, असोज ३ :

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन् ।

आज संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडीखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार युवा पुस्तासहित सबै नागरिकका आशा र अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको बताएकी छिन् ।

कार्कीले जेन जी पुस्ताको आन्दोलन विगतका प्रतिबद्धता,संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र,निष्पक्ष,सक्षम न्यायपालिका,सुशासन लगायतका लोकतान्त्रिक मूल्य,मान्यतामा हामी खरो उत्रिन नसक्दा आएको परिणाम भएको पनि बताइन् ।

जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब हो

उनले  युवापुस्ताले उठाएको रोजगारीको अवसर,गुणस्तरीय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, भ्रष्टाचारको अन्त्य, सुशासन लगायत बिषयलाई  आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेकव समेत बताईन् ।

आफू कुनै शाशकीय आकांक्षा बोकेर,कुनै पदको लालसा लिएर प्रधानमन्त्री नभएको भन्दै उनले संकटमा रहेको बेलामा परिवर्तन गामी युवा पुस्ताको अनुरोधका आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको प्रष्ट पारेकी छिन् ।

उनले नेपालको संविधान बमोजिम ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।