
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यक्तिगत रूपमा आफूबाट भएका गल्ती, कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन्।
संविधान दिवसका सन्दर्भमा शुक्रबार विज्ञप्ति जारी गर्दै उनले जेन्जी आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै पौडेलले पीडित परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
जेन्जी आन्दोलनको क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। दोषीमाथि कानुनी कारबाही गर्न र सार्वजनिक तथा निजी संरचनाको शीघ्र पुनर्निर्माण गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले शान्ति–सुरक्षा कायम गर्न, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन गर्न, आन्दोलनबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण गर्न तथा तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सकून् भन्ने अपेक्षा पौडेलले व्यक्त गरेका छन्।
उनका अनुसार जेन्जी आन्दोलन उत्पन्न हुनुमा युवा पुस्ताको असन्तुष्टि, भ्रष्टाचार नियन्त्रणमा कमजोरी, सुशासनको अभाव र कमजोर सेवा प्रवाह प्रमुख कारण हुन्। तर आन्दोलनको क्रममा भएको हिंसा र तोडफोडलाई पनि उनले त्यत्तिकै निन्दनीय भनेका छन्।
अब पार्टीलाई नयाँ पुस्तासँग एकाकार भएर नीति निर्माण र नेतृत्वमा युवाको निर्णायक योगदानसहित परिवर्तनको संवाहक शक्तिका रूपमा स्थापित गर्नुपर्ने जिम्मेवारी आएको उल्लेख गर्दै, पौडेलले पार्टी संगठन, कार्यशैली र आचरणमा आवश्यक परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्।
अन्त्यमा उनले संविधान दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना दिँदै, विगतका अनुभवबाट शिक्षा लिएर संविधानको रक्षा, प्रयोग र विकास गर्दै समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।