शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ असोज, २०८२ मा प्रकाशित
नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने
काठमाडौं, असोज ४ :

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् ।

आजको छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिएका छन् । त्यसैगरी बाढी पहिरोले अवरुद्ध सडकहरु तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिए ।

बैठकमा काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरूमध्ये सार्वजनिक सवारीसाधनहरू नाग ढुङ्गा–सिस्नेरी–सुरुङ मार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि त्यस्ता सवारीसाधनहरू प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिरिङको सचिवालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी सङ्ख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

राजमार्गहरूको कमजोर अवस्था तथा यात्रु वाहक सवारीसाधनहरूको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधि भर लागू हुनेगरी ठूला भारबहन सवारीसाधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नगर्न÷नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

उक्त सडक खण्डका लागि खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारीसाधनहरूलाई निरन्तर आवागमनको व्यवस्था मिलाउन भनिएको छ ।

मुलुक भरका मुख्य सडकहरूलाई चुस्त–दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरो जन्य विपदहरूको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्थापन गर्न, बुटवल–नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फ यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातो पानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न/गराउन बैठकले सडक विभागलाई निर्देशन दिएको छ ।

आम नागरिकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ । मुलुकभरिको सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुने गरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्न/गराउन सडक विभागलाई निर्देशन दिइएको छ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीको उपस्थिति थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार