काठमाडौं, असोज ४ :

हमासको सशस्त्र विंगले गाजाको सबैभन्दा ठूलो सहरमाथि इजरायली सेना आक्रमण र कब्जा जारी राखिरहेका बेला ४८ जना इजरायली बन्दीहरूको भनिएको विदाई तस्वीर सार्वजनिक गरेको छ। यी मध्ये ३८ औं नम्बरमा विपिन जोशीको नाम छ भनिए पनि स्पष्ट रुपमा चिनिने अवस्थामा भने देखिदैन । 

कसाम ब्रिगेड्सले शनिबार अनलाइन मार्फत एउटा संकलन तस्बिर प्रकाशित गरेको छ जसमा सबै जीवित र मृतक बन्दीहरूको अनुहार देखाइएको छ । प्रत्येकलाई रोन अराड भनेर क्याप्सन गरिएको छ।

यो सन्दर्भ सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेना क्याप्टेन रोन अराडसँग जोडिएको हो।

अराडको F-4 फ्यान्टम विमान दक्षिण लेबनानमा आक्रमण गर्ने क्रममा समय अगावै बम विस्फोट हुँदा खसेको थियो। उनलाई अमल आन्दोलनले कब्जा गरी पछि हिज्बोल्लाहलाई सुम्पिएको थियो।

उनी मृत्यु भएको विश्वास गरिन्छ ।

हमासले सार्वजनिक गरेको उक्त तस्बिरसँगै एक लेख पनि प्रकाशित गरेको थियो । नेतान्याहुको अस्वीकार र जामिरको समर्पणका कारण गाजा सिटीमा सैन्य कारबाही सुरु भएसँगै यो विदाई तस्वीर सार्वजनिक गरिएको छ ।

यो भनाइ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा भइरहेको नरसंहार अन्त्य गर्न हमाससँग कुनै सम्झौता गर्न बारम्बार अस्वीकार गरेको र सेनापति एयाल जामिरले सार्वजनिक रूपमा आपत्ति जनाए पनि गाजा सिटी कब्जा गर्ने योजना अन्तर्गत स्थलगत तथा हवाई आक्रमण विस्तार गरेको सन्दर्भमा आएको थियो ।

इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दी जीवित रहेको विश्वास गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित हुन सक्ने बताएका छन्।

ट्रम्प र नेतान्याहुले बारम्बार सबै जीवित र मृत बन्दीहरूलाई फर्काउने र हमासलाई नष्ट गर्ने बताएका छन्।

हमासले पटक–पटक चेतावनी दिएको छ कि बढ्दो इजरायली आक्रमण र स्थल आक्रमणका कारण बन्दीहरूको जीवन खतरामा पर्छ। केही बन्दीहरू त इजरायली बममै मारिएका छन् भन्ने दाबीसमेत उसले गरेको छ। साथै बन्दीहरू गाजा सिटीका विभिन्न बस्तीहरूमा छरिएर रहेको समूहको भनाइ छ।

शनिबार आएको यो चेतावनी त्यही दिन आएको हो जब तेल अवीव सहित इजरायलका अन्य सहरहरूमा सयौँ हजार मानिस फेरि सडकमा ओर्लेर सरकार विरुद्ध प्रदर्शन गर्दै युद्ध अन्त्य गर्न र सबै बन्दी फर्काउन तत्काल र समग्र सम्झौता गर्न माग गर्ने तयारीमा थिए।

यसअघि हमासले दुई जना इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको थियो। त्यसअघि करिब एक महिना अघिदेखि उसले दुई जना अत्यन्तै कमजोर देखिएका बन्दीहरूको फुटेज प्रसारण गरेको थियो जसमा एकलाई आफ्नै चिहान खन्न बाध्य पारिएको देखाइएको थियो।

यी तस्बिरहरूले बन्दीका परिवार,इजरायली अधिकारीहरू तथा अमेरिका लगायतका इजरायलका सहयोगीहरूमा व्यापक आक्रोश जगाएको छ।

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि कम्तिमा ६५ हजार २ सय ८ प्यालेष्टीनी मारिएका छन् भने १ लाख ६६ हजार २ सय ७१ जना घाइते भएका छन्।

गत मार्च १८ मा इजरायलले हमाससँगको युद्धविराम तोडेयता मात्र १२ हजार ६ सय ५३ जनाको मृत्यु र ५४ हजार २ सय ३० जना घाइते भएका छन्।