काठमाडौं, असोज ५ :

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै गएको पहिरो पन्छाउन समय लाग्ने भएपछि अग्रिम टिकटको बिक्री तत्कालका लागि रोकिएको छ ।

सडक खुलाउन अझै कति समय लाग्छ अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठूलो जोखिममा नपर्न  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आग्रह गरेको छ ।  

तुईन खोलामा  पहिरो खसेपछि हजारौँ यात्रु तथा सवारी साधनहरू अस्तिदेखि नै अलपत्र परेका छन् । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि हजारौँ गाडीहरू मुग्लिनतर्फ रोकिएका छन् ।

यसै बीच पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई जेसीज इच्छा कामनाको अगुवाइमा  निःशुल्क खाना र खाजा वितरण गरेका छन् । जेसिजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार स्थानीय युवाहरूले  खाना र खाजासँगै शनिबार राति मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था मिलाएका थिए ।

जेसीजकै नेतृत्वमा शनिबार दिनभर पनि चाउचाउ, बिस्कुट र पानी वितरण गरेका थिए ।  

साथै अलपत्र परेका यात्रुहरूलाई स्थानीय निकाय र प्रशासनले खाना खुवाउने तथा अन्य सहयोग गरिरहेको छ ।

नौबिसे–दामन–हेटौडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट कालीगण्डकी करिडोर हुँदै वैकल्पिक मार्ग मार्फत यात्रा गर्न सडक डिभिजन भरतपुरलेआग्रह गरेको छ  ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।