काठमाडौं, असोज ५ :

जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूले आइतबार सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिएका छन् । उनीहरूले आफ्ना मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।

तर, सुरक्षाकर्मीहरूले प्रवेश अनुमति नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् । आन्दोलनका क्रममा गम्भीर घाइते भएका केही घाइतेहरूको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही हालै मात्र अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धर्नामा सहभागी भएका घाइतेहरूले आन्दोलनमा सुरक्षाकर्मीको हस्तक्षेप र अत्यधिक बल प्रयोगका कारण आफूहरू अन्यायमा परेको भन्दै जिम्मेवार निकायसँग न्यायको माग गरेका छन् ।

सरकारले भने आन्दोलनका विषयमा सम्वाद गर्न तयार रहेको बताउँदै आए पनि पीडित पक्षले भने आफ्नो पीडा उपेक्षा गरिएको आरोप लगाउँदै आएको छ ।