
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै संगठनात्मक संरचनाहरू भंग गरेर मंसिरमै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव गरेका छन्।
उनले केन्द्रीय पदाधिकारी बैठकमा पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका सबै कमिटीहरू भंग गरेर नयाँ सांगठनिक संरचना निर्माण गर्नुपर्ने धारणा राखेका छन्। पार्टीभित्र विभिन्न गुटगत असहमति र सांगठनिक जटिलता देखिएको अवस्थामा अध्यक्ष दाहालले यस्तो प्रस्ताव ल्याएका हुन्।
दाहालले केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन्। साथै, महाधिवेशनबाटै लोकतान्त्रिक तरिकाले नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरेका छन्।
उनले भनेका छन्, ‘अब घोषित निर्वाचनमा होमिनुको विकल्प छैन, त्यसैले निर्वाचनको तयारीमा लाग्नुपर्छ।’ दाहालको भनाइमा अबको मार्ग भनेको निर्वाचन नै हो र पार्टी खुला लोकतान्त्रिक प्रक्रिया मार्फत अघि बढ्नुपर्ने छ।