पर्वत, असोज ६ :

गत शनिबार रातिको भीषण वर्षाका कारण बस्ती भन्दा तलदेखि पहिरो जाँदा यहाँको फले वास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पुर्ण रूपमा भत्किएका छन् ।

त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीन बहादुर नेपाली, नन्द कुमारी भण्डारी, डिल बहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठ पुर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्ष मन बहादुर कुँवरले जानकारी दिए ।

कुनै मानवीय तथा पशु चौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशु चौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो । बस्ती भन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्म पुगेको हो ।

विस्थापित घर परिवारलाई नजिकैको जनज्योति माध्यामिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फले वास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारी, उप प्रमुख शोभा क्षेत्री लगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् । उनीहरूले विस्थापित परिवारलाई अस्थाई बसोबासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिए ।

विस्थापित परिवारलाई पुनः स्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उनले बताए ।