
दक्षिण अमेरिकी मुलुक पेरुमा जेन-जी पुस्ताले सडकमा उत्रेर सरकारविरुद्ध विरोध प्रदर्शन सुरु गरेका छन्। संगठित अपराध, सार्वजनिक पदमा भइरहेको भ्रष्टाचार र हालै संसद्ले पारित गरेको पेन्सन कोषसम्बन्धी विवादास्पद कानुनविरुद्ध उनीहरूले आवाज उठाएका हुन्।
राजधानी लिमा सहरको केन्द्रमा करिब पाँच सयजना युवाहरू भेला भएका थिए। प्रहरीले उनीहरूलाई कार्यपालिका र संसद् भवनतर्फ अघि बढ्न नदिँदा झडप भएको हो। प्रदर्शनका क्रममा 'एक्सितोसा' नामक स्थानिय रेडियोका पत्रकार र क्यामेराम्यान प्रहरीको छर्राबाट घाइते भएका छन् भने प्रहरीका पनि कम्तीमा तीनजना घाइते भएको बताइएको छ।
प्रदर्शनमा सहभागी एक युवती, ग्लाडिसले भनिन्, ‘हाम्रो देशको लोकतन्त्र पहिलेभन्दा कमजोर भएको छ। डर, त्रास र असुलीका कारण अवस्था दिनदिनै बिग्रँदै गएको छ।’
अर्की प्रदर्शनकारी सेलेने अमासिफुएनले संसद्को आलोचना गर्दै भनिन्, ‘संसद्ले जनताको विश्वास गुमाइसकेको छ। त्यसले देशलाई विनाशतिर लैजाँदैछ।’
पछिल्ला दिनमा पेरुमा अपराध र असुलीका घटना बढ्दै जाँदा जनतामा तीव्र असन्तोष छ। राष्ट्रपति डिना बोलुआर्तेको लोकप्रियता तीव्र रूपमा घटिरहेको छ। उनको कार्यकाल आगामी वर्ष सकिंदै छ।
प्रदर्शनको मुख्य कारण बनेको कानुन अनुसार, अब युवा वर्गलाई अनिवार्य रूपमा निजी पेन्सन कोषमा सहभागी हुनुपर्नेछ। बेरोजगार र अस्थायी रोजगारीमा रहेका युवाहरूले यस कानुनको तीव्र विरोध गरिरहेका छन्।
नेपालमा जस्तै पेरुमा पनि जेन-जी पुस्ताले सामाजिक अन्याय र राज्यको अकर्मण्यताविरुद्ध सडकबाट प्रतिरोध गर्दै सरकारलाई चुनौती दिइरहेका छन्। अन्तर्राष्ट्रिय मिडियाहरूले नेपालपछि पेरुमा पनि जेन-जी आन्दोलन चर्किएको उल्लेख गरेका छन्।