
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आफूले काम गर्न नसक्ने दिन प्राधिकरण छाड्ने स्पष्ट घोषणा गरेका छन्।
‘जुन दिन काम गर्न सक्दिनँ, त्यो दिन छाडेर जान्छु,’ मंगलबार पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘म लोकसेवा लडेर आएको होइन, यो राजनीतिक नियुक्ति हो भन्ने बुझेकै छु। अर्को सरकार आएर छाड भनेको दिन पनि म छाड्छु।’
उनले काम गर्ने अवधि तय नभए पनि जति दिन छन्, इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘सधैं म बस्छु भनेर आएको होइन,’ उनले थपे।
सिलवालले आफू डराएर होइन, भिडेर काम गर्ने मान्यता राख्ने बताए। ‘जे जस्तो चुनौती आउँछ, म पार गर्छु। चुनौतीसँग डराउने होइन, भिड्ने हो,’ भन्दै उनले १२ हजार कर्मचारी र चारवटा ट्रेड युनियनको साथ रहेको उल्लेख गरे।
उनले सरकार र तालुकदार मन्त्रालयबाट सहयोग पाउने विश्वास व्यक्त गरे।कार्यालमा आफ्नो फोटो नटाँस्न पनि उनले कर्मचारीलाई आग्रह गरे। ‘मैले राम्रो काम गरेँ भने फोटो टाँस्नुहोला, नत्र पर्दैन,’ उनले भने। कार्यक्रममा बोल्दै सिलवालले यस्तो परिस्थिति फेरि नआउने आशा व्यक्त गर्दै आफूले पाएको अवसरलाई सदुपयोग गर्ने उल्लेख गरे।