
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी भंग गर्दै विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।
प्रवक्ता अग्नि सापकोटाका अनुसार, पार्टीभित्र एकता कायम गर्न र वर्तमान आवश्यकताका आधारमा यस्तो निर्णय लिइएको हो। स्थायी कमिटीको बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डाहरू तय गरेको छ। बैठक भोलिदेखि कमलादीस्थित प्रज्ञा भवनमा बस्नेछ।
प्रचण्डले राजनीतिक प्रस्तावसहित महाधिवेशनको मिति तोक्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्नेछन्। बैठकले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउने, परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने, विचार मिल्ने दलसँग एकताको पहल गर्ने र जेनजी प्रदर्शनका कारण ध्वस्त संरचनाको पुनःनिर्माण तथा राहतका लागि जनपरिचालन गर्ने निर्णयसमेत गरेको छ।