
जेनजी आन्दोलनका क्रममा भएको क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ । पदाधिकारीहरूले शपथ ग्रहण गरे लगत्तै काम थालेका हुन् । विशेष अदालतका पूर्वअध्यक्षसमेत रहेका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
मन्त्रिपरिषद्को असोज ५ गतेको बैठकले कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोग अध्यक्ष कार्कीले भने, ‘हामीले काम सुरु गरेका छौँ । प्राप्त कार्यादेशमा रहेर हामी काम अघि बढाउँछौँ । प्राप्त प्रमाणका आधारमा आन्दोलनका क्रममा भएका घटना कानुनबमोजिम भए वा नभएको निक्र्योल गरी कानुनविपरीत भएमा जिम्मेवार व्यक्तिलाई कारबाहीका लागि राय दिन्छौँ ।’
मानवीय र भौतिक क्षति उच्च भएपछि आन्दोलन गर्ने पक्षको मागमा सरकारले आयोग गठन गरेको हो । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । यस्तै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका सरकारी र सार्वजनिक संरचनामा क्षति पुगेको थियो । राजनीतिक दलका शीर्ष नेताका निजी सम्पत्ति तथा पार्टी कार्यालयहरूमा पनि क्षति पुगेको थियो । आयोगले तीन महिनाको समय पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको अगाडि रहेको मौसम पूर्वानुमान महाशाखासँगै आयोगलाई कार्यालय उपलब्ध गराइएको छ ।