
गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबका कारण रोकिएका सबै अनुसन्धान फाइलहरू पुनः खोलिने बताएका छन्। उनले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने स्पष्ट गर्दै अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउने निर्देशन दिएका छन्।
शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै गृहमन्त्री अर्यालले विगतमा राजनीतिक हस्तक्षेपका कारण अनुसन्धान रोकिएको स्वीकार गर्दै ती सबै फाइल पुनः खोल्ने प्रतिबद्धता जनाए।
उनका अनुसार शान्ति सुरक्षा कायम नगरेसम्म आगामी ६ महिनाभित्र निर्वाचन सम्भव नहुने भएकाले सुशासन स्थापना अहिलेको सरकारको पहिलो सर्त हो।
गृहमन्त्रीले अघिल्लो सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट सुशासन नहुनुका कारण बिचमै समाप्त भएको टिप्पणी गर्दै अबको सरकार जनताको अपेक्षा अनुसार काम गर्ने बताए।
साथै, उनले प्रहरीलाई व्यवसायिक क्षमता देखाउँदै अनुसन्धान कार्यमा कुनै ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।