काठमाडौं, असोज १० :

माओवादी केन्द्रले आगामी मंसीरका विशेष महाधिवेशन गर्ने भएको छ । शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले सो महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिए । बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको छ । बैठकले जेनजी आन्दोनलको क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वमयसेवक परिचालन गर्ने भएको छ ।

प्रवक्ता सापकोटाले भने,‘जेनजी आन्दोलनलाई विश्लेषण गरी पार्टीको विशेष महाधिवेशन आयोजना गरिनेछ । केन्द्रिय समिति विघटन गरी आयोजक आयोजक समिति बनाउने निर्णय भयो । अध्यक्ष लगायत सबै पदाधिकारीको व्यवस्था अहिले स्थगित गर्ने । महाधिवेशनमा जेन—जी लगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने । हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमानै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपले होमिनुपर्छ भन्ने निर्णय गर्दछ । राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भिर संकटमा रहेको वर्तमान सन्दर्भमा समाजवादी मोर्चामा रहेका दलहरुलाई पार्टी एकता र धुव्रीकरणको प्रक्रिया अगाडि बढाईनेछ । विचार मिल्नेसँग अन्य बुँदाहरुमा पनि सहकार्य गरिनेछ । क्षतिग्रस्त सार्वजनिक तथा सरकारी संरचनाको सम्बन्धित निकायहरुसँग समन्वय गरी स्वमयसेवक तथा आवश्यक सहयोग परिचालन गर्ने । ।’

माओवादीले नेताहरुको सम्पत्ति छानबिन गर्नका लागि आयोग गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाकाअनुसार तत्काल छानबिन समिति बनाएर नेताहरुको सम्पत्ति छानबिनको काम सुरु गर्ने निर्णय गरिएको छ ।
उनले भने, ‘सम्पत्ति छानविन आयोग बनाएर सम्पत्तिको छानबिन गर्ने । त्यो पदाधिकारीबाट शुरु गर्ने । कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढंगले सोच्ने । महाधिवेशन मंसिरको अन्तिमसम्म गर्ने निर्णय गरियो ।’

त्यस्तै, अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गर्दै वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई समेट्ने तथा महाधिवेशनसम्म छलफल गर्दै जाने पनि निर्णय गरेको छ।त्यस्तै बैठकले ‘नेपोटिज्म’बारे कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने भएको छ ।जेनजीलाई पार्टीका सबै कमिटीहरुमा अधिकतम सहभागी गर्ने तथा युवाहरूलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।आइटीलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी केन्द्रीय कार्याल, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ ।