काठमाडौं, असोज ११ :

उपत्यका मेयर्स फोरमले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माण र सुरक्षात्मक पूर्वाधार सुदृढीकरणका लागि तत्काल ६ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

सिंहदरबार परिसरमा आन्दोलनका कारण भएको आगलागीबाट क्षतिग्रस्त ऐतिहासिक भवन पुनर्निर्माणका लागि ५ करोड रुपयाँ  र उपत्यका प्रहरी कार्यालय मार्फत सुरक्षाका लागि सीसीटिभी प्रणाली व्यवस्थापनमा १ करोड सहयोग गर्ने कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिएका छन् ।

साथै जेनजी आन्दोलनकै  क्रममा तोडफोड तथा आगजनीबाट प्रभावित उपत्यकाका अन्य स्थानीय तहलाई समेत क्षतिको मूल्याङ्कन गरी सोही आधारमा आवश्यक सहयोग प्रदान गरिने निर्णय फोरमले गरेको नगरप्रमुख कार्कीले जानकारी दिए । 

यस सहयोगले प्रभावित नगरपालिकाहरूलाई सेवा प्रवाहमा सहजता पुर्‍याउने अपेक्षा गरिएको छ। अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा फोरमको बैठक बसेको हो ।

उपत्यका मेयर्स फोरम काठमाडौँ,भक्तपुर र ललितपुर जिल्लाभित्रका सबै नगरपालिकाका प्रमुखहरूको समन्वयात्मक निकाय हो । जसले आपतकालीन अवस्था तथा साझा समस्याहरूमा एकीकृत रूपमा पहल गर्दै सहयोग गर्ने गर्दछ ।