
फाइल तस्बिर ।
साढे चार दशक बन्द भएर गत वर्षदेखि पुनः सुरु गरिएको टेकुस्थित पचली भैरव जात्रामा भक्तजन एवं दर्शकको घुइँचो लागेको छ ।
आश्विन शुक्ल चतुर्थीका दिन पचली भैरवको लिङ्गो (योसिंः) ठड्याएर सुरु भएको जात्राको मुख्य दिन आज बिहानैदेखि मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको हो । पूजा, आराधना एवं हवन सिध्याएर बेलुकी ५ बजेपछि पचली भैरवको जात्रा राजधानीको भित्री सहरमा चलाइने काठमाडौँ महानगरपालिका– १२ का अध्यक्ष एवं पचली भैरव जात्रा गुठी व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जनले जानकारी दिए ।
जात्रा टेकुस्थित मन्दिरबाट सुरु गरी लगन, हनुमानढोका दरबार क्षेत्रमा लगिनेछ । हनुमानढोका दरबारस्थित कुमारी घरमा कुमारीको दर्शन गरी जात्रा गएकै मार्गबाट जैसीदेवल, ज्याबहाल, ब्रह्मटोलमा ल्याइने पनि उनले सुनाए। यस क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा घुमाइने जनाइएको छ ।
जात्राका लागि पचली भैरवका गुठियारहरूले साँखुमाथिको जङ्गलबाट योसिंःका लागि रुख काटेर ल्याई ठड्याउने परम्परा छ । आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन योसिंः ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको मानिन्छ ।
आश्विन शुक्ल चौथीका दिन योसिंः उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा योसिंः ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ । उनलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको पनि अध्यक्ष महर्जनले जानकारी दिए ।