काठमाडौं, असोज १२ :

बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ।

अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ।

आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन् ।

देवी कात्यायनीलाई नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ।

पुराण अनुसार,त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी छन्।

काठमाडौं उपत्यकासहित देश भरका शक्ति पीठहरू-गुह्येश्वरी, दक्षिणकाली, कालीकास्थान, मैतीदेवी, इन्द्राणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज विशेष पूजा आराधना गरिन्छ।

दशैंमा नौ दिनसम्म दशैंघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने परम्परा छ।