सल्यान, असोज १२ :

राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा  गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु दुई जना घाईते भएका छन् ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जादै गरेको फोर्स गाडी आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अरु एक महिला र एक पुरुषको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पछि थप उपचारका लागि  बाँकेको नेपालगञ्ज पठाईएको  छ ।

घटनास्थल प्रहरी चौकी कपुरकोटबाट अन्दाजी ६ किलोमिटर दक्षिणतर्फ र इलाका प्रहरी कार्यालय लुहामबाट करिब २६ किलोमिटर पूर्वमा  पर्दछ ।