सल्यान, असोज १२ :

रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस हाइस दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए ।

आज बिहान  लु२ख ६५०२ नम्बरको सो माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको थियो ।  

दुर्घटनामा  तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा रुकुमपश्चिम बाँफिकोट गाउँपालिकाका ४७ वर्षीय खगेन्द्र केसी र सोही ठाउँका ३६ वर्षीय डिना केसी छन् । घाइतेहरूलाई  उपचारका लागि राप्ति प्रादेशिक अस्पातल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुरमा लगिएको छ ।

गाडी सडकदेखि करीब ४ सय मिटर तल खसेको छ ।