काठमाडौं, असोज १२ :

पूर्वराजा ज्ञानेन्द्र शाहले जन मनो भावनाको ख्याल गरेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

दसैँका अवसरमा जारी शुभकामना सन्देशमा उनले युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गर्दै नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नु पर्ने बताएका छन् । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई ग्रहण गर्नुपर्ने जोड दिएका छन् ।

आज जारी गरेको शुभकामना सन्देशमा  उनले युवा पुस्ता हाम्रा भविष्यका आधार स्तम्भ हुन भन्दै युवा पुस्तामा निहित देशभक्तिको भावना,ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो,समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन् । यो समयको माग हो भन्दै  हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।

पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।

उनले हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड रहेको  प्रस्ट पारेका छन् । यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको उल्लेख गर्दै उनले कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नव निर्माण गर्नु परेको छ भनी सन्देशमा उल्लेख गरिएको छ ।


सन्देशमा उनले नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा  शुभेच्छा, सद्भाव आदान–प्रदान गरिने दसैँ पर्वको शुभ अवसरमा नेपालभित्र र बाहिर रहे–बसेका सबै नेपालीमा सुख,शान्ति र समृद्धिका निम्ति शुभकामना पनि व्यक्त गरेका छन् ।