
नेपालको पर्यटकीय राजधानी पोखरास्थित पुम्दीकोट शिव मन्दिरमा पनि पर्यटकहरुको संख्या घटेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सो मन्दिरमा पनि पर्यटक आउनेहरुको संख्या न्युन हुन गएको हो ।
भारत लगायतका मुलुकहरुले पनि सुरक्षाका कारण नेपाल भ्रमणमा नजान भनेर निर्देशन दिएपछि अहिले धार्मिक पर्यटनस्थल सो मन्दिरमा पनि पर्यटकहरुको आगमन न्युन हुन गएको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
उनले सो आन्दोलनमा ठूलो धनजनको क्षति भएकाले पनि तत्कालका लागि पर्यटकहरुको आगमन बढ्नसक्ने अवस्था नरहेको स्पष्ट पारे ।
अध्यक्ष बरालले भने, अवश्य पनि नेपालमा यत्रो दुर्घटना हुँदै गर्दा धार्मिक स्थलमा मात्रै नभएर सम्पर्ण पर्यटकीय स्थलमा ठूलो प्रभाव परिरहेको छ । तत्काल धार्मिक पर्यटकहरुलाई पनि आगमन नगर्नु भनेर भारतले पनि सूचना जारी गरेको छ । अन्यत्र राष्ट्रहरुले पनि यस्तो ठूलो जुन जनधनको क्षति नेपालमा भएको छ । यो प्रति अत्यन्तै दुःख व्यक्त गर्न चाहन्छु । र यसले प्रभाव चाहीँ पार्छ नै । अब कति लामो प्रभाव पार्छ भन्ने कुरा मात्रै थाहा छैन । तत्काल त धेरै प्रभाव परिसकेको छ । तापनि पुम्दीकोटको अन्यको तुलनामा पर्यटकहरुको आउने क्रम त छ । तर पहिलो जस्तो जुन भीडभाड हुन्थ्यो, अहिले छैन, न्युन नै छ ।’
अध्यक्ष बरालले पर्यटकहरुको आगमनका लागि आवश्यक वातावरण निर्माण गर्न प्रदर्शनको क्रममा ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणमा जोड दिन पनि सरकारलाई सुझाव दिनुभयो ।