
सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूका लागि देशभर १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना गरेको छ।
काठमाडौं उपत्यकासहित ७ वटै प्रदेशका ठूला सरकारी अस्पतालहरूमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा आएका छन्। साथै, उपचारमा सहजता होस् भनेर अस्पतालसम्म निशुल्क आवागमनका लागि एम्बुलेन्स सेवा र फोकल पर्सनसमेत तोकिएको छ।
गृह मन्त्रालयको निर्णय अनुसार आइतबारदेखि घाइतेलाई परिचयपत्र वितरण सुरु गरिएको छ। उनीहरूले ती अस्पतालमा निशुल्क र सहज उपचार पाउनेछन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई परिचयपत्र हस्तान्तरण गरेर त्यसको सुरुवात गरेका हुन्। सोमबारदेखि जिल्ला प्रशासन कार्यालयहरूबाट पनि वितरण सुरु गरिएको छ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा घाइतेहरूको अवस्थाअनुसार वर्गीकरण गर्न विशेषज्ञ चिकित्सकको नेतृत्वमा कार्यदल गठन गरिने छ। मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्ने तयारी गरेको छ।
