
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले ‘श्रम संस्कृति पार्टी’नामक दल दर्ता गर्न आयोगमा निवेदन दर्ता गराएका हुन्।
निर्वाचन आयोग स्रोतका अनुसार हर्क साम्पाङ स्वयं उपस्थित भई दल दर्ता प्रक्रिया अघि बढाएका हुन्। पार्टीको अध्यक्षमा पनि उनी स्वयं रहने उल्लेख गरिएको छ।
‘उहाँले दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाउनुभएको छ, हाल कागजातहरूको रुजु प्रक्रिया भइरहेको छ,’ आयोग स्रोतले जानकारी दिएको छ।
सामाजिक अभियन्ता तथा स्वतन्त्र राजनीतिक शैलीबाट चर्चामा आएका साम्पाङले अब संस्थागत रुपमा नयाँ पार्टीको नेतृत्व गर्न लागेका हुन्।
‘श्रम संस्कृति पार्टी’ नामबाट दर्ता हुन लागेको यो दलको उद्देश्य, नीति तथा कार्यक्रमबारे उनले औपचारिक धारणा सार्वजनिक गरिनसकेको भए पनि यसले नेपाली राजनीतिमा नयाँ बहस सुरु गर्ने अपेक्षा गरिएको छ।