काठमाडौं, असोज १३ :

नेपालीहरुको महान् चाड दसैँले यतिबेला उल्लास छाएको छ । यो समयमा दसैँको टीका लगाउन कर्मथलोबाट घरघरमा पुगेका छन् । दसैँमा टीका जमरा लगाउने, चिल्ला,पिरा, गुलिया तथा मिठामिठा परिकार खाने प्रचलन छ ।

तर यस्ता खानपानले मानिसहरुको स्वास्थ्यसँगै छालामा पनि विभिन्न समस्याहरु ल्याउन सक्ने भएकोले सचेत रहन चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

वरिष्ठ छालारोग विषेशज्ञ डा. श्रद्धा उप्रेतीले दसैँको अवसरमा खाइने खानाका विभिन्न प्रकारसँगै दसैँको टीकाले पनि शरिरसँगै अनुहारको छालासमेत बिगार्न सक्ने भएकोले सतर्कता अपनाउन सुझाव दिन्छिन् । दसैँमा खानपानसँगै अन्य विभिन्न कुरामा व्यस्त रहँदा र आफ्नो अनुहार तथा छालाको ख्याल नगर्दा दीर्घकालिन रुपमै अनुहारै पनि बिग्रिन सक्ने जोखिम रहेको उप्रेतीले सजक गराइन् ।

डा. उप्रेतिले दसैँमा सबैभन्दा बढी जोखिम भनेको केमिकल मिसिएको रंग हालेर बनाईएको टीकाले छालाको एलर्जी र अन्य समस्या निम्ताउन सक्ने बताउँछिन् । त्यससँगै चाडपर्वको समयमा बढी मात्रामा चिल्लोचाप्लो र गुलियो धेरै खाने गर्दा त्यसले छालालाई समेत असर गर्ने र पिप्पलहरु आउने समस्या बढी मात्रामा देखिने भएकोले सतर्कता अपनाउन सुझाउँछिन् ।

उनका अनुसार दसैँको टीका लगाउँदा सबैलाई एलर्जी नभएपनि केहि मानिसहरुलाई गम्भिर असर पार्ने जोखिम रहेको छ भने कतिपयलाई टीकामा प्रयोग हुने पाउडरले नै एलर्जी हुने गरेको बताउँछिन् । ‘कतिपय मानिसहरुलाई छालामा जुनसुकै रंग परे पनि एलर्जी हुने समस्या देखिने गर्छ त्यस्ता व्यक्तिहरुलाई दसैँको टीका लगाउँदा चिलाउँछ, कालो दाग बस्छ, त्यसकारण ख्याल गर्नुपर्छ । ’

उनले भनिन्, ‘एलर्जी हुने मान्छेले दसैँको दुई तीनको कुरा त हो भनेर टीका लगाउँदा त्यसले झन एलर्जी बढाउँछ, चिलाउने हुन्छ । यस्तो रंग वा टीकाको रंगको एलर्जी हुने व्यक्तिहरुले यस्तो खालको रंग प्रयोग भएको टीका प्रयोग नगर्दा नै राम्रो हुन्छ । एक पटक शरीरले एलर्जी भनेर चिनेको छ भने फेरी लगाउँदा झन् बढी एलर्जी हुन्छ । झनै बढी रियक्सन (प्रतिक्रिया) गर्छ । त्यस्तो अवस्थामा बढी चिलाउने, घाउ बन्ने, नराम्रो दाग बन्ने हुन्छ । त्यसैले एलर्जी हुनेहरुले सकभर यस्तो खालको टीका प्रयोग नगर्दा नै राम्रो हुन्छ ।’

‘टीका लगाएपछि चिलाउन, अप्ठ्यारो हुन थाल्यो भने छिटो सफा गर्नुपर्छ । त्यस्ता व्यक्तिहरुले घरमा नै अर्गानिक तरिकाले तयार गर्न सकिने रंगहरुको प्रयोग गर्न सकिन्छ । जस्तै घरमै उत्पादन भएको बेसार, विभिन्न फलफूलका रंगहरु पनि प्रयोग गरेर टीका तयार गर्न सकिन्छ । यस्ता रंगको प्रयोग गरिएका टीका लगाउँदा छालालाई हानी गर्दैन । कुनै पनि रंगले चिलायो भने सफा गरेर मास्चराईजहरु लगाईहाल्नु पर्छ ।’

‘दसैँको बेलामा आफूले नियमित लगाउने सनक्रिम, मस्चराइजहरु लगाउन बिर्सिनु हुँदैन । जुन चिजले हाम्रो छालालाई संरक्षण गर्छ त्यो चिज लगाउन बिर्सन हुँदैन । एलर्जी नहुनेहरुले पनि टीका लगाईसकेपछि बेलुका फोमिङ फेसवासले अनुहार सफा गर्नु राम्रो हुन्छ । त्यसपछि मस्चराईजर लगाउने गर्नुपर्छ ।’

खानपानले पनि छालामा असर गर्छ ?

‘दसैं, तिहार जस्ता चाडपर्वमा धेरै चिल्लोचाप्लो खाने गरिन्छ । यस्तो खानाले विशेषगरी युवायुवतीहरुलाई पिम्पलको समस्या बढाउन सक्छ । एकदुइ दिन त हो, भनेर चिल्लोचाप्लो, गुलियो लगायतका धेरै चिज खाने बाजी हुन्छ । त्यसले खाने समयमा केही नभए पनि पछि अनुहारको छालामा धेरै किसिमका समस्याहरु लिएर आउने गर्छन् । त्यसैले चाडपर्वमा धेरै चिल्लो र गुलियो पदार्थ नखाँदा नै राम्रो हुन्छ ।’

‘खानामा धेरै ध्यान दिनुहोला । टीकाले गर्दा यसै पनि पिम्पलहरु बढ्छ त्यसमाथि खानामा ध्यान दिन सकिएन भने झन् बढी छालाको समस्या आउँछ । अनुहारमा पिप्पल, दागहरु बढ्ने समस्या हुन हुन्छ । त्यसैले कुनैपनि चाडपर्व वा अन्य जुनसुकै समयमा पनि खानमा विशेष ध्यान दिन जरुरी छ ।’

‘यदी छालामा गम्भिर प्रकारका कुनै पनि समस्या देखिन थाल्यो भने कत्ति पनि हेलचक्राईँ नगरी तत्काल चिकित्सकको परामर्शमा जानुपर्दछ । र कुनै पनि सामाग्री अनुहारमा वा छालामा प्रयोग गर्दै गर्दा आफ्नो छाला परिक्षण गरेर चिकित्सकको परामर्शअनुसार मात्रै प्रयोग गर्नु ठिक हुन्छ । हाम्रो समाजमा अरुका साम्राग्रीहरु पनि आँफ्नो छालामा प्रयोग गर्ने बानि हुन्छ यो बानि एकदमै खराब हो । यसले छालामा दिर्घकालिन समस्या समेत ल्याउन सक्छ ।’

(वरिष्ठ छालारोग विषेज्ञ डा. श्रद्धा उप्रेती चितवन मेडिकल कलेज शिक्षण अस्पताल सीएमसी चितवनमा कार्यरत छिन् )