
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले संविधानको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार र परिमार्जन स्वभाविक प्रक्रिया भएको बताउनुभयो ।
अध्यक्ष दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क संविधान निर्माणकर्ता र संविधान स्वयम्का लागि मान्य हुन नसक्ने उल्लेख गर्नुभएको छ।
विगतमा गरिएका उपलब्धिमा गर्व र गर्न नसकिएका विषयमा समीक्षा गर्दै अघि बढ्नुमा नै यस दिवस मनाउनुको सार्थकता हुने उहाँले बताउनुभयो ।
संविधान जारी भएयता सङ्घीय संसद्ले थुप्रै ऐन कानुन बनाएको र अझै केही महत्वपूर्ण कानुन बनाउन बाँकी रहेको जनाउदै उहाँले संविधानअनुकूलका कानुन छिटो बनाई शासन व्यवस्थालाई संस्थागत गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
दिवसले संविधानको कार्यान्वयनमा प्रतिबद्ध रहन, इमान्दारितापूर्वक पालना गर्न र जनताप्रति उत्तरदायी बन्न प्रेरणा प्राप्त भनी संविधान दिवसको शुभकामना दिनुभएको छ ।
यसैगरी नेपालको राजनीतिक इतिहासमा संविधानसभाबाट संविधान निर्माण गर्नु ऐतिहासिक परिघटना भएको उल्लेख गर्दै उहाँले आफ्ना प्रतिनिधिले बनाएको संविधानबाट शासित हुने सात दशक लामो जनचाहना वर्तमान संविधानबाट पूरा भएको स्मरण गर्नुभयो ।