काठमाडौं, असोज १५ :

नेपाली काँग्रेसले भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न तथा दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिएको छ ।

पार्टीले मंगलबार  वक्तव्य जारी गर्दै ती दुई दिनमा ७६ जनाभन्दा बढीको ज्यान गएको, सयौं घाइते भएको र राष्ट्रलाई खरबौंको क्षति पुगेको उल्लेख गर्दै यो घटनाको जति निन्दा गरे पनि कमै हुने कुरा उल्लेख गरेको छ ।

प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न न्यायिक छानबिन आयोग गठनको स्वागत गर्दै  राजनीतिक प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित योजनाबद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विशेषका नेताहरूमाथि बदला पुर्ण प्रतिशोध लिने उद्देश्यले छानी छानी खोजी खोजी आक्रमण गर्ने, उनीहरूका कार्यालयहरू त्यसैगरी तोडफोड गर्ने, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार र बर्दी लुट्ने सोही हातहतियार देखाई आतंक फैलाउँदै हिँडेको अवस्थामा देखिएका व्यक्ति उपर प्रचलित कानुन अनुसार कुनै खोजतलास नगर्ने, कानुनी कार्वाही नगर्ने भन्ने आशयको गृह मन्त्रालयबाट मिति २०८१ असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिको आधारमा जारी गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनको धज्जी उडाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी पीडितलाई आतंकित पार्ने र सप्रमाण भेटिएका अपराधीहरूलाई उन्मुक्ति दिँदै जाने सरकारको नीति हो भने नेपाली जनताका लागि कदापि स्वीकार्य हुने छैन भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

सरकारलाई दण्डहीनतालाई प्रोत्साहन गर्ने नीतिबाट पछि हट्न, घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न र प्रतिशोध मूलक राजनीति नगर्न समेत विज्ञप्तिमार्फत आग्रह गरेको छ।

गृह मन्त्रालयले  जारी परिपत्रले प्रमाणित अपराधीहरूलाई कानुनी कारबाही नगरी उन्मुक्ति दिने संकेत गरेको भन्दै काँग्रेसले कडा आपत्ति जनाएको छ।  यस्तो कदमले संविधानवाद, कानुनी शासन र विधिको शासनको धज्जी उडाएको काँग्रेसले आरोप लगाएको छ।  

घटनाको प्रारम्भिक छानबिन सुरु नुहुँदै आयोगको हवाला दिँदै नेताहरूको राहदानी रोक्का गर्ने, मुलुकभित्रको आवतजावत प्रतिबन्धित गर्ने जस्ता कार्यहरू  राजनीतिक प्रतिशोधपूर्ण कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।