
जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।
हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिए ।
खोला किनारमा खुर्पीले माटो खन्ने क्रममा ढिस्को नै खसेर चारै जनालाई पुरेको बताईएको छ ।
चाडपर्वमा पूजापाठका लागि छ जना एकै साथ माटो लिन आएका मध्ये दुई जना भने भाग्न सफल भएका छन् । सुरक्षित रहेका दुई जनाले घटनाबारे जानकारी गराएपछि गाउँलेहरु घटनास्थलमा पुगेका थिए ।
ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएका थिए । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको उनले बताए।