हेटौंडा, असोज १५ :

बाराको पथलैया–हेटौंडा सडकखण्डस्थित चुरियामाई नजिकैको उकालोमा यात्रुवाहक बसले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन नाबालकसहित चार जना घाइते भएका छन्।

जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको बसको अचानक ब्रेक फेल भई पछाडि सर्दा सोही दिशातर्फ जाँदै गरेका दुई वटा मोटरसाइकलमा ठक्कर दिएको हो। दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय राज पण्डितले जानकारी दिए।

उनका अनुसार बसले ना १२ प ३३६० र मधेश प्रदेश ०३–०२४ प ४४९५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परेर मृत्यु हुनेमा ना १२ प ३३६० नम्बरको मोटरसाइकल चालक २५ वर्षीय मकेश्वर पटेल र मधेस प्रदेश ०३–०२४ प ४४९५ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षीया कविता देवी रहेको प्रहरीले जनाएको छ। घाइते अवस्था में उपचारका लागि कलैया अस्पताल लैजाँदै गर्दा बाटोमै दुवै जनाको मृत्यु भएको हो।

कविता देवीका श्रीमान् तथा मोटरसाइकल चालक कञ्चनकुमार पटेलसहित तीन नाबालक घाइते भएका छन्। उनीहरूको हेटौंडामा उपचार भइरहेको छ।

बस चालक सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।