महोत्तरी, असोज १७ :

महोत्तरीको बर्दिबास नगरपालिका–१० स्थित खैरमारामा आज बिहान भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट खैरमारा जाँदै गरेको ना ६ ख १४६३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी खैरमारा निवासी करिब ८० वर्षीय चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ।

प्रहरीका अनुसार बस पल्टिँदा एक व्यक्ति च्यापिएका छन् भने घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकको अस्पताल पठाइएको छ। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।