काठमाडौं, असोज १८ :

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरी र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत आजदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

आज १८ गते देखि २० गतेसम्म तीन दिन  भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत आज असोज १८ देखि २० गते सम्मका लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

सो अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन,सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्न समेत प्राधिकरणले आग्रह गरेको छ ।