काठमाडौं, असोज १८ :

जल तथा मौसम विज्ञान विभागले  आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गर्नुभएको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन्।

जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

“यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ”, उनले भने । यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरेका छन् ।

विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा  प्रभाव  छ ।