काठमाडौं, असोज १८ :

देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ । विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेश पुरमा सबैभन्दा बढी २८९ र रौतहटको गौरमा २५९ मिलि मिटर वर्षा भएको छ । वीरगन्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलि मिटर वर्षा भएको छ ।

यस्तै मकवानपुरमा १३४ र काभ्रेपलान्चोकमा १२२ मिलि मिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । काठमाडौं उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलि मिटरभन्दा बढी वर्षा भएको छ ।

विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षा मापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार गरेकाले साइरन बजाइएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले काभ्रे–रोसी, मनोहरा–काठमाडौं, बागमती–काठमाडौँ, लाल बकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो क्रममा रहेको जनाएको छ ।

बागमती प्रदेश र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ ।