
काठमाडौं प्रशासनले सोमबारका लागि दिइएको बिदा खारेज गर्दै सरकारी कार्यालय खोल्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार राति सुचना जारी गर्दै सोमबारका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएको हो ।
सरकारले शुक्रबारदेखिको लगातारको वर्षाका कारण काठमाडौं प्रवेश मार्गहरू अवरुद्ध भई उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो । तर आईतबारबाट केही जिल्लामा मौसममा सुधार आएपछि प्रशासनले सोमबार बिहान १० बजेबाट कार्यालय खुला हुने जनाएको छ।
जारी गरिएको सूचनामा भनिएको छ,"मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको हुँदा मिति २०८२/०६/ २० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा तदनुरूप कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध छ।"
यससँगै काठमाडौंका सरकारी कार्यालयहरू भोलिदेखि नियमित रूपमा सञ्चालन हुने भएका छन्।
यसअघि आजै गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको थियो ।
गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिए सँगै यो नयाँ निर्णय भएको हो ।
मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आज जारी गर्नुभएको सूचनामा विपद् जोखिम प्रतिकार्यमा संलग्न नभएका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न अनुरोध गरिएको उल्लेख छ । यही असोज १७ गतेदेखि भइरहेको वर्षाका कारण करिब तीन दर्जन जिल्ला प्रभावित भएका छन् ।ती जिल्लामा विपद् जोखिम तथा प्रतिकार्यका काम भइरहेका छन् ।