
वर्षा र पहिरोका कारण देश भरका केही राजमार्गहरू आंशिक रुपमा खुले पनि अझै केही राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध नै छन्।
नेपाल प्रहरीले सोमबार बिहान ६:४० बजे सार्वजनिक गरेको विवरणमा कोशी,बागमती लगायतका प्रदेशका विभिन्न सडक खण्डमा अझैपनि आवागमन अवरुद्ध नै रहेको उल्लेख गरेको छ । अहिले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग भने आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।
कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। संखुवासभाको भोटखोला गाउँ पालिका–४ बरुणखोला र मकालु गाउँ पालिका–३ एकुवा तथा मानेभञ्ज्याङ गाउँ पालिका–६ र ७ को बीचमा सडक पुर्णरुपमा बन्द छ ।
सिद्धिचरण लोकमार्ग, मध्यपहाडी लोकमार्ग कोशी राजमार्ग पनि वर्षाका कारण बन्द छ। ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा र धनकुटाको पाख्रीबास दिकुरे र साँगुरीगढीस्थित चनौटे तथा ससिम सुबा क्षेत्रमा सडक अवरुद्ध छ ।
यसैगरी मेची राजमार्गको ईलाम नगरपालिकाकामा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ। मकवानपुरको भिमफेदी र बकैया क्षेत्रमा समेत पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।
यसैगरी रसुवा जिल्लामा पनि गोसाइकुण्ड गाउँपालिका स्याफ्रुबेशीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खसेकोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो र क्षेत्र,काभ्रेपलान्चोकको डालाबेसी र बुल्ढुङ्गामा पहिरो गएको छ र सडक अहिले पुर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।
दक्षिणकाली–काठमाडौं खण्ड पनि इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार क्षेत्रमा पनि आवागमन बन्द नै छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाउँपालिका–२ सिन्दुरे क्षेत्रमा सडक अवरुद्ध भएपनि आंशिक रूपमा आवतजावत भएको छ । सिन्धुलीकै जिल्लाको फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बिपी राजमार्ग पूर्ण रूपमा बन्द छ।
राजमार्ग क्षेत्रहरूमा अझै पनि पहिरोको जोखिम कायम रहेको जनाएको छ । प्रहरीले यात्रुहरुलाई सचेत रहन आ्रह पनि गरेको छ ।