
काठमाडौँ र ललितपुरका सबै सरकारी कार्यालय,संस्थान र स्थानीय तहहरू सोमबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुने भएका छन्।
उपत्यकाका काठमाडौँ र ललितपुर प्रशासनले आजका लागि दिइएको सार्वजनिक बिदा खारेज गरेसंगै दुबै जिल्लाका सरकारी कार्यालयहरु आजबाट सुचारु हुने भएको हो ।
दुबै जिल्ला प्रशासन कार्यालयहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै आज असोज २० गते बिहान १० बजेदेखि नै सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार राति सुचना जारी गर्दै सोमबारका लागि दिइएको बिदा खारेज गर्दै सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएको हो ।
सरकारले शुक्रबारदेखिको लगातारको वर्षाका कारण काठमाडौं प्रवेश मार्गहरू अवरुद्ध भई उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो । तर आईतबारबाट केही जिल्लामा मौसममा सुधार आएपछि प्रशासनले सोमबार बिहान १० बजेबाट कार्यालय खुला हुने जनाएको छ।
जारी गरिएको सूचनामा भनिएको छ,"मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको हुँदा मिति २०८२/०६/ २० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा तदनुरूप कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध छ।"