काठमाडौं, असोज २० :

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर प्रहरी समक्ष पुगे। तर प्रहरीले जाहेरी दर्ता गर्न भने मानेन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा सोमबार जाहेरी लिएर पुगेका गुरुङ र उनका समर्थकहरूलाई प्रहरीले जाहेरी विधिपूर्वक नभएको र आयोगको काम जारी रहेकाले दर्ता गर्न नसकिने भन्दै फर्काएको हो।

सुदन गुरुङसहित जेन–जी आन्दोलनमा संलग्न अगुवाहरूले आजदेखि ‘केपी ओली एरेस्ट’ अभियान सुरु गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै दबाबमूलक अभियान थालेका छन्।

गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनमा राज्य पक्षबाट अत्यधिक बल प्रयोग भएको भन्दै सरकारको निर्देशनमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो।

आयोगको सिफारिस अनुसार ओली, लेखक, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई आयोगको अनुमति बिना काठमाडौं बाहिर जान रोक लगाइएको छ।

भदौ २३ र २४ गतेको आन्दोलनमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो भने सयौं नागरिक घाइते भएका थिए।

एक प्रहरी अधिकारीले भने, ‘गौरीबहादुर कार्की श्रीमानको नेतृत्वमा भएको आयोगलेसमेत काम गरिरहेका बेला तत्काल दर्ता हुने स्थिति छैन। यद्यपि, थप छलफल भने भइरहेका छन्।’