काठमाडौं, असोज २१ :

जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै आज आयोगमै औपचारिक पत्र बुझाएको छ ।आज उनीहरूले भौतिक उपस्थितिमै टंगाल स्थित अख्तियार मुख्यालय पुगेर लिखित पत्र दर्ता गरेका हुन् । 

पत्रमा सबै पदाधिकारीहरुका कार्यहरु राजनीतिक रुपमा पक्षपाती छन् भन्ने आलोचना प्रशस्तै रहेको उल्लेख गर्दै राजीनामाको माग गरेका छन् । जनेजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्ड हीनताको अन्त्य पूरा गर्न अख्तियारमा निष्पक्ष,स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको अलायन्सको जिकिर छ । उनीहरुले  अख्तियारका हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको समेत बताएका छन्  ।

समूहले हिजो प्रमुख आयुक्त राईलाई इमेलमार्फत स्वैच्छिक राजीनामाको आग्रह गरेको पनि बताइएको छ  ।राजीनामा नआए अन्य संघर्षका कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको अलायन्सले जनाएको छ ।